Skip

Hamro Sanchar

गबारोबाट धानबालीमा क्षति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, १० गते


दोधारा चाँदनी,साउन १०- कञ्चनपुरको कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा धानबालीमा गबारो कीराले क्षति पु-याएको छ । पर्याप्त वर्षा नहुँदा दुई पालिकामा गबारो कीराको प्रकोप देखिएको हो ।

कृष्णपुर नगरपालिकाका कृषि अधिकृत लालबहादुर धामीले पालिकाका सबै वडामा खेतमा गबारो कीराको प्रकोप देखिएको जानकारी दिए । “रोपेको धानबालीमा गबारो कीराले क्षति पु-याएपछि निःशुल्क विषादी वितरण गरिरहेका छौँ”, उनले भने , “झण्डै एक सय किसानलाई विषादी वितरण गरेका छौँ, पालिकाको बजेट अभावले सबैलाई विषादी उपलब्ध गराउन सकिएको छैन ।”

अधिकांश किसानको खेतमा गबारोले कीराले क्षति पु-याएको र त्यसको निर्मूलका लागि विषादी प्रयोग गर्न कृषि अधिकृत धामीले सुझाव दिए । “पर्याप्त वर्षा नहुँदा सुक्खा भएपछि गोबारोको प्रकोप देखिएको हो”, उनले भने , “हामीले सबै वडामा पुगेर नमूना परीक्षण गरिरहेका छौँ ।”

यस्तै शुक्लाफाँटा नगरपालिकाको सुक्खा क्षेत्रमा पनि गबारो कीराको प्रकोप देखिएको छ । शुक्लाफाँटा नगरपालिकाका कृषि प्राविधिक करनसिंह बुढाऐरले पालिकाको सुक्खा क्षेत्रमा खेतमा गबारो कीराको प्रकोप देखिएको बताए । “गबारो कीरा देखियो भनेर किसान आउने क्रम बढेको छ”, उनले भने , “सुक्खा क्षेत्रमा धानबालीमा गबारो कीरा र धमिराको सङ्क्रमण देखिएको छ ।”

धान रोपेकोे महिना दिनमै गबारोको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी जनक सिंहले कञ्चनपुरका दुई पालिकामा मात्रै गबारो सङ्क्रमण देखिएको जानकारी दिए । “शुक्लाफाँटा र कृष्णपुरमा धानबालीमा गबारोको प्रकोप देखिएको छ”, उनले भने , “जिल्लाका अन्य क्षेत्रमा यसको प्रकोप देखिएको छैन ।”

कञ्चनपुरमा ४८ हजार चार सय ९६ हेक्टरमा धानखेती हुने गरेको सूचना अधिकारी सिंहले बताए । यहाँ आर्थिक वर्ष २०७७ / ७८ मा एक लाख ८९ हजार मेट्रिक टन तथा आव २०७८ / ७९ मा एक लाख २३ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । आव २०७९ / ८० मा एक लाख ९० हजार मेट्रिक टन धान उत्पादन भएको उनले बताए ।


प्रतिकृया दिनुहोस्