
काठमाडौं, साउन ३ – प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले शुल्क वृद्धि गरेको विरोधमा मोहन वैद्य निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले साउन ४ गते देशभर शैक्षिक हडतालको आह्वान गरेको छ ।
संगठनका संयोजकत रामबहादुर तिरुवाद्वारा हस्ताक्षेरित अपिल पत्रमा लेखिएको छ, “शुल्क बृद्दिका विरुद्ध पिसिएल नर्सिङ, एच. ए र डिप्लोमा ईन फार्मेसी संचालित सम्पूर्ण शैक्षिक सस्थाहरुमा गरिएको साउन ४ को बन्द सफल पारौं ।”
अपिल पत्रमा भनिएको छ, ” यहि मिति २०८० असार २९ गतेका दिन सीटीईभीटीले मनोमानी तरिकाले PCL Nursing, HA र Diploma In Pharmacy मा शुल्क बृद्दि गरेको छ । यस्तो जटिल आर्थिक परिवेशमा अभिभावक र बिद्यार्थीहरुको ढाड सक्ने गरि गरिएको शुल्क वृद्धिका विरुद्ध हामी चरणबद्ध संघर्षमा छौं । जनताका छोराछोरीहरु स्वास्थ्य शिक्षाबाट बन्चित हुने सीटीईभीटीको उक्त कदम प्रति घोर भत्सर्ना र निन्दा व्यक्त गर्दछौं ।
सङ्गठनले, नाजायज र अन्यायपूर्ण तरिकाले सीटीईभीटी प्रशासन र निजि शैक्षिक सस्थाका संचालकहरु बिच भएको आर्थिक लेनदेन सहितको मिलोमतोमा शुल्क बृद्दि गरिएको आरोप लगाएको छ ।
सीटीईभीटीले पीसीएल नर्सिङमा ३२ प्रतिशत,एचएमा २८ प्रतिशत शुल्क बृद्धि गरेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले तत्काल शुल्क वृद्धि फिर्ताको माग गर्दै ज्ञापनपत्र समेत बुझाएको संगठनका केन्द्रीय सचिव पेशल दाहालले हाम्रोसंचारलाई जानकारी दिए ।


















