
काठमाडौं, साउन २- काठमाडौँ महानगरपालिका ‘स्वीस टुरिजम अवार्ड २०२३’ का लागि छनोट भएको छ ।
यसै वर्षको नोभेम्बर ३ देखि ५ तारिखसम्म स्वीट्जरल्याण्डको लुगानो सहरमा हुने अवार्ड कार्यक्रमका लागि कामपा छनोटमा परेको हो । पर्यटन क्षेत्रका वैज्ञानिक पेसाकर्मीको निर्णायक समितिले कामपलाई अवार्डका लागि छनोट गरेको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
कामपा प्रमुख बालेन्द्र साहलाई पत्र पठाउँदै आयोजक संस्थाले भनेको छ, “यस क्षेत्रको आयामिक पक्षलाई आम जनताबीच परिचित गराउने, पर्यटन गन्तव्यको विशिष्ठतालाई प्रवर्द्धन गर्ने यस कार्यक्रममा यहाँको उपस्थितिका लागि निमन्त्रणा गर्दछौँ ।”
काठमाडौँको सांस्कृतिक, धार्मिक, पुरातात्विक र ऐतिहासिक सम्पदा, मूर्त÷अमूर्त सम्पदा र जीवन्त सहरी रमाइलो वातावरणका कारण आगन्तुकलाई मोहित बनाउने पत्रमा उल्लेख छ ।
यो अवार्ड वितरण विगत १५ वर्षदेखि भइरहेको छ । अवार्डका लागि स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका)ले आवेदन दिन सक्नेछन । आवेदकमध्येबाट निश्चित सङ्ख्यामा अवार्डका लागि मनोनयन गरिन्छ ।
अवार्ड कार्यक्रममा स्वीट्जरल्याण्ड, इटालीसहित अन्तर्राष्ट्रिय क्षेत्रमा गन्तव्यको प्रचार गरिन्छ । यस्तै सम्मानित हुने सहरमा पर्यटनको मूल्य र पेसाका विषयमा चर्चा गरिन्छ । स्थानीय तहका अधिकारी, सम्मानित संस्थाका अधिकारी तथा प्रतिनिधि, गन्तव्य प्रवर्द्धक कार्यक्रममा सहभागी हुनेछन् ।


















