Hamro Sanchar

सुन तस्करी सञ्जालमा कृष्णबहादुर महरा बाबुछोरा !

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, २ गते


Advertisement

काठमाडौं, साउन २- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमा सुन हराएको सन्दर्भमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा जोडिएका छन्।

ई–सिगरेट (विद्युतीय चुरोट) भित्र लुकाएर तस्करी गर्न लागिएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रैबाट चोरी भएको घटनामा भन्सार कर्मचारीका साथै महराका बाबुछोरा जोडिएका हुन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनअनुसार महरा बाबुछोराले भन्सार विभागका कर्मचारीलाई पटकपटक फोन गरेर भन्सार कार्यालयमा रहेको ई–सिगरेट लिलामी गर्न दबाब दिएका थिए।

सिआइबीले सरकारी वकिल कार्यालयलाई अनुसन्धान गरी बुझाएको प्रतिवेदनमा महराका बाबुछोरा र सुन आयातकर्ता चिनियाँ नागरिक एवं अरू सम्पर्क सूत्रको टेलिफोन नम्बरसहित उल्लेख गरेको छ।

प्रतिवेदनमा उल्लेख भएअनुसार पूर्वसभामुख महरा र उनका छोरा राहुल महरा सुन ल्याउने समूहसँग सम्पर्कमा रहेको देखिन्छ। सिआइबी स्रोतका अनुसार महरा बाबुछोराले भन्सारका कर्मचारीलाई फोन गरेर त्यहाँका सामान आफ्नो व्यापारिक साथीको भएको र त्यसलाई लिलामीमा राखिदिन आग्रह गरेका थिए।

प्रहरीले अनुसन्धानका क्रममा कल डिटेल (सिडिआर) बाट महरा बाबुछोराको कनेक्सन पत्ता लगाएको हो। प्रहरीले सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको प्रतिवेदनमा उनीहरूको मोबाइल नम्बर नै उल्लेख गरिएको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।


प्रतिकृया दिनुहोस्