Skip

Hamro Sanchar

रास्वपामा सुरु भयो लफडा : विवादपछि कुटपिट, प्रहरीमा पुग्यो मुद्दा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, ३१ गते


रुपन्देही, असार ३१- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको विवाद सदस्यता खारेजी र कुटपिटको तहसम्म पुगेको छ । आगामी मंसिरमा हुने पार्टीको अधिवेशनमा नेतृत्व हत्याउने उद्देश्यले एक समूहले स्थापनाकालदेखि पार्टीमा लागेका कार्यकर्ताको सदस्यता खारेजी र कुटपिटको तहसम्म पुगेको सतहमा आएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सैनामैना र्यापिट एक्शन टिम संयोजक दामोदर खत्रीले बिधान अनुसार पार्टी सञ्चालन गर्नुपर्छ भन्ने आवाज उठाउँदा पार्टीका प्रदेश उपसभापति शालिकराम घिमिरे, रुपन्देही संयोजक प्रकाश ज्ञवाली र रुपन्देही क्षेत्र नं २ का क्षेत्रीय सदस्य विक्रम तिवारी लगायतको समूहले राति ९ बजेको समयमा पार्टी कार्यालयमा बोलाई आफूलाई कुटपिट गरेको र उल्टै आफू बिरुद्ध कुटपिटको उजुरी दिएको गुनासो गरेका छन् ।

उनले शनिबार बुटवलको बेलबासमा पत्रकार सम्मेलन गरी पार्टीलाई बिधान अनुसार चलाउनुपर्छ भन्ने आफ्नो आवाजलाई दबाउन प्रदेश उपसभापति घिमिरे,जिल्ला संयोजक ज्ञवाली,क्षेत्रीय सदस्य तिवारीको समूहले आफूसँग अनुचित प्रस्ताव राखेको र उनीहरुको प्रस्तावमा सहमत नभएपछि कुटपिटमा उत्रिएको आरोप लगाएका छन् ।

पार्टी बिधानको धारा १३ (ङ)मा सरकारी विद्यालयमा पढाउने ब्यक्ति कुनै पनि पदमा नरहने ब्यवस्था रहेको भए पनि जिल्ला संयोजक ज्ञवाली रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १७ पिपरहियास्थित बालविकास आधारभूत विद्यालयमा पढाउने शिक्षक भएको र उक्त कुरा उठाउँदा आफूमाथि कुटपिट भएको उनले बताए ।

प्रदेश उपसभापति घिमिरेले क्षेत्रीय निर्वाचनमा पदीय मयार्दा बिपरीत मतदातालाई प्रभावमा पारी मतदाताको मोबाइलबाट आफैले मत हाल्नेसम्मको कार्य गरेको र सो कुराको बिरोध गर्दा षडयन्त्रपूर्वक आफ्नो सदस्यता खारेज गर्ने र कुटपिट गरिएको उनले आरोप छ ।

गत बुधबार राती आफूलाई पार्टीको सैनामैना नगर समितिको कार्यालयमा बोलाई प्रदेश उपसभापति घिमिरे,जिल्ला संयोजक ज्ञवाली र क्षेत्रीय सदस्य तिवारीको समूहले आगामी मंसिरमा हुने अधिवेशनमा नेतृत्व हत्याउन बिभिन्न खाले प्रलोभन देखाएको र आफूले बिधानको कुरा उठाउँदा बिवाद उत्पन्न भएपछि आफू बाहिर निस्किएको र पछि उनीहरु पनि बाहिर आएर आफूमाथि आक्रमण भएपछि आफूले प्रतिरक्षा मात्रै गरेको दावी उनले गरे ।

आफूमाथि कुटपिट भए पनि पार्टीभित्रको कुरा भनेर प्रहरीमा उजुरी नगरेको तर उनीहरुले उल्टै आफू बिरुद्ध उजुरी दिएको उनको भनाइ छ । भर्खरै गठन भएको पार्टीमा गुटबन्दी गर्न नहुने र पार्टीलाई बिधान अनुसार चलाउनुपर्छ भन्दा उल्टै कारबाही गर्ने र स्थापनाकालदेखि निस्वार्थ रुपमा पार्टीमा लागेका ब्यक्तिलाई तँ सदस्नै होइनस् भनेर कुटपिटमा समेत उत्रिने नेतृत्व रहेसम्म संगठन बलियो हुन नसक्ने निस्कर्षकासाथ आफू आजैदेखि पार्टीमा नरहेको घोषणा उनले गरे ।


प्रतिकृया दिनुहोस्