
काठमाडौं, असार २०- आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले धेरैपटक दिल्ली भ्रमण गरेको भनी प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्ति सार्वभौमिकता र संविधानविपरीत भएको ठहर गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ ।
बुधबार अपराह्न ४ बजे बसेको बैठकको सुरुमा बोल्दै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीले बोलेको कुराले नेपालको स्वाभिमानलाई ठेस पुगेको भन्दै नैतिकताको आधारमा राजीनामा मागेका छन् ।
एमालेसहित विपक्षी दलले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।
एमाले संसदीय दलको आज बसेको बैठकले प्रधानमन्त्रीको आपत्तिजनक र देशको सार्वभौमिकताविरोधी अभिव्यक्ति क्षमायोग्य नभएकाले राजीनामा माग्ने निर्णय गरेको थियो ।

















