काठमाडौं, असार १- सरकारले बजेटमार्फत आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि केही व्यापारीले आलु–प्याज ल्याएका छैनन् । त्यसको फाइदा उठाउँदै खुद्रा व्यापारीले कालोबजारी गर्न थालेका छन् । आयातमै निर्भर भएको प्याजको मूल्य यतिबेला मनोमानी छ । बजेट भाषणको अघिल्लो दिन खुद्रा मूल्य प्रतिकिलो ४५ देखि ५० रुपैयाँसम्म पर्ने प्याज अहिले ९० देखि १ सय रुपैयाँसम्म पुगेको छ । यसअघि यी तरकारी तथा फलफूलमा भ्याट लाग्दैन थियो, अब १३ प्रतिशत भ्याट लाग्छ ।
‘भारतबाट केही मात्रामा आएको हुन सक्छ, तर २१ गतेयता कालीमाटीमा भारतीय आलु–प्याज भित्रिएको छैन,’ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोकबाट भित्रिए पनि नगण्य छ । एकरदुई टनले माग धान्न सक्दैन ।’ समितिका अनुसार भारतबाट दैनिक औसत ८० देखि ९० टन प्याज भित्रिन्छ ।
भारतबाट आयात नभएपछि समितिभित्र कारोबार हुन छाडेको श्रेष्ठले बताए । भारतबाट दैनिक डेढ सय टनसम्म आयात हुने आलुको आयात पनि रोकिएको छ । ‘सिजन भएकाले स्वदेशी आलु ७०/८० टन भित्रिएको छ, त्यसपछि फेरि भारतकै भर हुन्छ,’ श्रेष्ठले भने, ‘भ्याट लागेपछि व्यवसायीहरूले मगाएकै छैनन्, त्यसको असर स्वतः खुद्रा बजारमा देखिएको हो ।’
श्रेष्ठको भनाइलाई समितिको आयात तथ्यांकले पनि पुष्टि गर्छ । तथ्यांकअनुसार जेठ १ गते भारतबाट ८४ हजार किलो प्याज कालीमाटी भित्रिएको थियो । आयात परिमाण घटबढ हुँदै जेठ १० मा २ लाख १३ हजार किलो र जेठ २० मा ७३ हजार किलो भित्रिएको थियो । त्यसयता आयात ठप्प छ । स्रोतका अनुसार अर्थ मन्त्रालय र भन्सार विभागसँग पहुँच राख्ने व्यापारीहरूले भ्याट लाग्ने सूचनाका आधारमा प्याज लुकाएका थिए । ‘ठूला व्यापारीले गोदामभन्दा बाहिर लुकाए । बजेटलगत्तै बजारमा मूल्य अस्वाभाविक रूपमा बढाए,’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले भने, ‘मूल्य बढेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न गोदाममा अनुगमन पनि गर्यो तर गोदाम खाली देखियो । त्यही प्याज अहिले बढी मूल्यमा बिक्री गरेको अनुमान छ ।’
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको वैशाख महिनासम्म १० करोड १० लाख ३५ हजार रुपैयाँको १२ लाख ५६ हजार ४ सय ८३ किलो प्याज आयात भएको छ । भारतबाट मात्रै ६ करोड ४९ लाख ६८ हजार रुपैयाँको ११ लाख ५९ हजार ४ सय ८३ किलो र चीनबाट ३ करोड ६० लाख ६८ हजारको ९७ हजार किलो भित्रिएको हो । तर, बजेट भाषणबाट भ्याट लागेपछि आयात हुन छाडेको छ । कान्तिपुर दैनिकमा खबर छ ।