काठमाडौं, जेठ २९- काठमाडौंको अनामनगरस्थित सार्वजनिक जग्गामा काठमाडौं महानगरले डोजर चलाएपछि स्थानीयले विरोध गरेका छन् ।
सोमबार काठमाडौंको अनामनगरस्थित गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयबीच विवाद सिर्जना भएको हो ।
एकपक्ष स्थानीय वर्षौँदेखि सार्वजनिक जग्गाको सुरक्षा गर्दै आएको र विपतकाे वेलामा आवश्यक पर्ने भएकाले भत्काउन नहुने पक्षमा छन् भने अर्को पक्षका स्थानीय सरकारले सार्वजनिक जग्गाको उपयोगका लागि भत्काउन पाउने र आफ्नो संरचना बनाउन पाउने पक्षमा छन् ।
स्थानीयहरूबीच नै विवाद हुँदा अहिले स्थिति तनावग्रस्त छ । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकाको २९ नम्बर वडाको वडा कार्यालय बनाउन भत्काउन थालेको छ ।
अहिले महानगरपालिकाले स्थानीयको विरोधबीच डोजर चलाइरहेको छ । स्थानीयले भने काठमाडौं महानगरपालिकाको विरोध गरिरहेका छन् ।
महानगरपालिकाले सार्वजनिक जग्गा पहिचान गरी आवश्यक ठाउँमा वडा कार्यालय बनाउन पाउने, तर विपतकाे वेलामा उपयोग हुने जग्गा मिचेर वडा कार्यालय बनाउन नहुने उनीहरूको तर्क छ ।
स्थानीयहरूले वडा कार्यालयबाहेकका अन्य कुनै पनि संरचना बनाउन महानगरपालिकालाई आफूहरूको समर्थन रहने प्रतिबद्धता जनाएका छन् । महानगरपालिकाले भने स्थानीयहरूको मागलाई बेवास्ता गर्दै सार्वजनिक जग्गामा डोजर चलाइरहेको छ ।