Hamro Sanchar

एमाले, रास्वपालगायत प्रतिपक्षको अवरोधपछि प्रतिनिधि सभाको बैठक १ घण्टाका लागि स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, २१ गते


काठमाडौं, जेठ २१- आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिवक्षी दल नेकपा एमालेले अवरोध गरेपछि १ घण्टाका लागि स्थगित भएको छ ।

आजको बैठकमा सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल गर्ने कार्यसूचि रहेपनि एमाले सांसदहरुले बैठक अवरोध गरेपछि १ घण्टाका लागि स्थगित भएको हो । नेकपा एमालेले निस्कृय भैसकेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले गरेको प्रमाणीकरणको विरोध गर्दै त्यो निर्णय नसच्चाएसम्म संसद् चल्न नदिने बताएको छ ।

त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा नेपाली भूमि लिपुलेक भारतलाई दिएर त्यही बराबरको बङ्गलादेश जोड्ने भूमि भारतबाट लिन सकिनेबारे दिएको अभिव्यक्तिको पनि एमालेले जवाफ माग गरेको छ ।

प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा फूलबारी बन्दरगाहको रुट लिएर कालापानी, लिपुलेक भारतलाई दिन सकिने भन्नेजस्तो राष्ट्रघाती अभिव्यक्ति दिएको एमालेको दाबी छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि नागरिकता बिधेयक प्रमाणीकरण गरेकोमा संसदमा बिरोध जनाएका छन् ।


प्रतिकृया दिनुहोस्