Skip

Hamro Sanchar

सीटीईभीटीका उच्च अधिकारी सवार गाडी सुनकोशीमा ३ जना बेपत्ता, खोज्न गोताखोर परिचालन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, १९ गते


काठमाडौं, जेठ १९- भक्तपुरबाट खोटाङ जाँदै गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को जिप सुनकोशीमा खसेको छ । बा १ झ ७४६७ नम्बरको जिप मध्यपहाडी लोकमार्गको खुर्कोट– घुर्मी खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनमा शुक्रबार मध्याह्न दुर्घटनामा परेको हो ।

सीटीईभीटीका निर्देशकहरु कृष्ण केसी, यमप्रसाद भुर्तेल, प्राविधिक अधिकृत भानु पौडेल र ड्राइभर चौधरीसहित ४ जना जिपमा सवार थिए । उनीहरू काठमाडौंबाट खोटाङ जिल्लाका प्राविधिक शिक्षालयको अनुगमनमा जाँदै गरेका थिए ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको गाडीमा प्रशासन शाखाका निर्देशक तनहुँ भानु नगरपालिका ९ का ५७ वर्षीय केसी‚ पूर्वी नवलपरासी प्रगति नगरपालिका ७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक पौडेल सवार थिए ।

नदीमा बेपत्ताहरुको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन  गरिएको छ । स्काभेटर र नेपाल प्रहरी सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

उद्धारको लागि सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म सिन्धुलीबाट डिएमसहित सशस्त्र प्रहरी निरीक्षक कमान्डको १३ जना, सशस्त्र प्रहरी बल, नेपाल रामेछाप गुल्मबाट सशस्त्र प्रहरी नायब निरीक्षक कमान्डको ९ जना र काठमाडौं  सिनामंगलस्थित सशस्त्र प्रहरी बल, नेपाल  नं. २० विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी नायब निरीक्षक कमान्डको ७ जना गोताखोर टोली खटिएका छन् ।


प्रतिकृया दिनुहोस्