
काठमाडौं, जेठ १४- काठमाडौंको कलंकीमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो काठमाडौं महानगरपालिका-१४ कलंकी चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सु.प.प्रदेश ०१-००१ ख २९४१ नम्बरको ट्रक र बा.प्र.०२-००४ प ४७०३ नम्बरको स्कुटर ठोक्किएका थिए ।
दुर्घटना हुँदा स्कुटरमा सवार तनहुँ घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका-१४ नैकाप बस्ने ६४ वर्षीया सन्तु माया राउतको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै दुर्घटनामा घाइते भएकी स्कुटर चालकको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।