Skip

Hamro Sanchar

जलहरीबारे जुट्यो सहमति, एमालेले संसद अवरोध नगर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, १३ गते


काठमाडौँ, जेठ १३- प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिनाथको जलहरीबारे प्रतिनिधिसभामा सम्बोधन गर्ने भएपछि एमालेले अवरोध नगर्ने भएको छ । शनिबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकमा प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध नगर्ने सहमति भएको हो ।

बैठकमा सहभागी एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार प्रधानमन्त्री दाहालले जलहरीबारे सदनमै सम्बोधन गर्ने, माओवादी सांसद लेखनाथको दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएको हो । प्रतिनिधिसभामा सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले जलहरीबारे उठेका प्रश्नबारे पनि बोल्ने भएका हुन् ।

एमालेले अब संसद् अवरोध नगर्ने पनि प्रमुख सचेतक गिरीले जानकारी दिए ।

सरकारले पेस गरेको नीति तथा कार्यक्रममा सांसदहरूले उठाएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यसूची रहे पनि माओवादी सांसद लेखनाथ दाहालले बुधबार दिएको अभिव्यक्तिलाई लिएर एमालेले सदन अवरुद्ध गरेको हो ।सांसद दाहालले भनेका थिए, ‘उहाँ (केपी ओली) तीन वर्ष सरकारमा रहँदा यती, ओम्नी, स्वास्थ्य सामग्रीमा २ अर्ब भ्रष्टाचार, पशुपतिनाथको जलहरी लगाउँदा पनि सुन लगाउने भनेर पित्तल लगाइदिएको, यस्ता सयौं भ्रष्टाचारका काण्ड छन् ।’

प्रतिनिधिसभामा देखिएको गतिरोध अन्त्यका लागि शनिबार बिहान तीन दलका शीर्ष नेता छलफलका जुटेका हुन् । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेता रहेका थिए । बैठकमा गृहमन्त्रीसमेत रहेका माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का पनि सहभागी थिए । त्यस्तै कांग्रेस, एमाले र माओवादीका प्रमुख सचेतकहरू रमेश लेखक, पदम गिरी र हितराज पाण्डे पनि बैठकमा सहभागी थिए ।


प्रतिकृया दिनुहोस्