Hamro Sanchar

महानगर भित्रका अस्पतालको सेवा प्रभावकारी बनाउन मेयर बालेनको निर्देशन

के बि महरा प्रकाशित : २०८० जेठ, ७ गते


काठमाडौं, जेठ ७- काठमाडौं महानगर प्रमुख बालेन शाहले महानगर क्षेत्र भित्र रहेका अस्पतालहरूले प्रचलित कानुन र मापदण्ड अनुसार लक्षित वर्गहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, सेवाग्राही मैत्री सेवा प्रवाह गर्ने, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको प्रचलित कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्ने, अस्पताल भित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणको लागि सिफारिस नगर्ने जस्ता कार्यहरू सुधार गरी स्वास्थ्य सेवालाई सबै वर्ग, समूहको पहुँच योग्य बनाउन काठमाडौं महानगरपालिकाको निर्णय अनुसार सम्बन्धित सबैलाई सोही अनुसार गर्ने, गराउन निर्देशन दिएका छन् ।

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शैयाको दश प्रतिशत शैय्या छुट्याई निःशुल्क उपचार गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा ११ (४) ख २ मा स्वास्थ्य संस्थाको नियमन गर्ने कानुनी अधिकार समेत स्थानीय तहलाई रहेकोले नियम अनुसार महानगर भित्र सञ्चालन रहेका सबै सरकारी अस्पतालले प्रदान गर्ने सेवा प्रवाह सेवाग्राही मैत्री हुनुपर्ने मेयर शाहले जनाएका हुन्।

“उल्लेखित विषयका अतिरिक्त लक्षित वर्गले निःशुल्क सेवा लिएका व्यक्तिहरूको विवरण टाँस गर्ने तथा महानगरमा प्रत्येक महिना को १० गतेसम्म नबुझाउने लगायत कार्य नगरेको पाइएमा काठमाडौँ महानगर पालिकाबाट नियमानुसार कारवाही हुने ब्यहोरा सम्बन्धित सबै स्वास्थ्य संस्थाहरूलाई जानकारी गराइन्छ ।” मेयर शाह द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


प्रतिकृया दिनुहोस्