Hamro Sanchar

लडाकु शिविरको छानबिन गरौँ, भ्रष्टाचार प्रमाणित भए जेल जान तयार छु : प्रधानमन्त्री प्रचण्ड

प्रकाशित : २०८० जेठ, ४ गते


काठमाडौं, जेठ ४- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी लडाकु शिविरमा भ्रष्टाचार भएको प्रमाणित भएमा जेल जान तयार रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले लडाकु शिविरमा भ्रष्टाचार भएको प्रसंग उठाउँदै छानबिनका लागि प्रधानमन्त्री तयार हो? भन्ने प्रश्न गरेका थिए ।

सांसद शाहीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले लडाकु शिविरमा भ्रष्टाचार भएको प्रमाणित भएमा आफू जेल जान तयार रहेको बताएका हुन् ।

‘कसैले दिएको उजुरीकै आधारमा छानबिन गरेर दोषी ठहरिए म आफैँ जेल जान तयार रहेको कुरा पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छु,’ प्रधानमन्त्री दाहालले भने, ‘सबै चिज छानबिन गर्न सकिन्छ । लडाकु शिविरको कुरा कपोलकल्पित र पूर्वाग्रही छ ।’

लडाकु शिविरका कुरा राजनीतिक आग्रह र पूर्वाग्रहका साथ बेलाबेला उठ्ने गरेको प्रधानमन्त्री दाहालले बताए । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र रामशरण महत अर्थमन्त्री हुँदा रूजु गरेर यो विषय टुंग्याइएको उनको भनाइ छ ।

उनले लडाकुलाई पैसा दिँदा व्यापक भ्रष्टाचार भयो भनेर आरोपका लागि आरोप लगाउने काम मात्रै भइरहेको पनि बताए ।

सांसद शाहीले प्रहरीले ४ महिनादेखि तलब नपाएको, पूर्व लडाकुको को हुन् रेकर्डसमेत नभएकोजस्ता विषय उठान गर्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए। ‘लडाकु शिविरमा व्यापक भ्रष्टाचार भयो भन्ने छ। विशेष समिति बनाएर छानबिन गर्न तपाईं तयार हो?’ उनले सोधेका थिए ।


प्रतिकृया दिनुहोस्