Hamro Sanchar

अन्त्य भयो संसदका दुवै सदनको चालु अधिवेशन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, १६ गते


काठमाडौं । सङ्घीय संसद्को चालु अधिवेशन गए राति १२ बजेदेखि अन्त्य भएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराएका थिए ।

कावा राष्ट्रपति यादवले मन्त्रिपरिषद् बैठकको निर्णयको सिफारिसमा संसद् अधिवेशन अन्त्य गरेका हुन् । सदनको चालु अधिवेशन शुक्रबार राति १२ बजेदेखि स्वतः अन्त्य भएको छ । बैठकमा यसअघि सभामुख घिमिरेले यस अधिवेशनमा प्रतिनिधिसभा बैठकबाट भएका काम कारबाहीको विवरण सुनाएका थिए ।

प्रतिनिधिसभाको शुक्रबार बसेको पहिलो बैठक गृह मन्त्रालयको फरार अभियुक्तको सूचीमा रहेका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर अवरुद्ध भएको थियो ।

ढिला गरी बसेको अर्को बैठकमा सभामुख देवराज घिमिरेले सांसद कोइरीका विषयमा सदनमा विभिन्न विषय उठेकाले उनको बारेमा संसद्को आगामी अधिवेशनबाट कानुन बमोजिम हुने जानकारी गराएका थिए । यसैगरी बैठकले सांसदहरू मनोरमा शेरचन, विनाकुमार थनेत, चन्द्रकान्त भण्डारी र वर्षमान पुनको बिदा सभाबाट स्वीकृत गरेको छ ।


प्रतिकृया दिनुहोस्