Hamro Sanchar

धवलागिरि हिमालमा १ जना भरिया बेपत्ता, दुई जनाको उद्धार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, १० गते


काठमाडौं । म्याग्दीस्थित धवलागिरि हिमालमा एक जना भरिया बेपत्ता भएका छन् भने दुई जनाको सकुशल उद्धार गरिएको छ । आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नं ४ मा अवस्थित छ । धवलागिरि आधार शिविरमा आरोहीको सामान पुर्‍याएर फर्कने क्रममा शुक्रबार साँझ उनीहरू हिउँ पहिरोमा पुरिएका थिए ।

बेपत्ताको खोजीका लागि शनिबार हेलिकोप्टरमार्फत धवलागिरि आधार शिविर पुगेर फर्केका म्याग्दी दानाका इन्द्रसिंह शेरचनका अनुसार सोलुखुम्बुको सोलदूधकुण्ड नगरपालिका–१ नुथला फुलेली गाउँका २० वर्षीय अमृत राई बेपत्ता भएका हुन् ।

अमृतसँगै बेपत्ता भएका सोही ठाउँका धिरज राई र अर्जुन राईको शनिबार शेर्पाहरूको टोलीले सकुशल उद्धार गरेर इटली आधार शिविरमा पुर्‍याइएको शेरचनले जानकारी दिए । उनीहरू सेभेन समिट ट्रेक काठमाडौंबाट भरियाका रूपमा आधार शिविरमा आएका थिए । जापानिज आधार शिविर नजिकै हिउँपहिरामा परेका थिए ।


प्रतिकृया दिनुहोस्