Skip

Hamro Sanchar

श्रोत सुनिश्चित नभएका आयोजनामा बजेट नराख्न,अर्थमन्त्रीको प्रस्ताव

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, ८ गते


काठमाडौँ । अर्थमन्त्री डा। प्रकाशशरण महतले श्रोत सुनिश्चित नभएका आयोजनामा बजेट नराख्न प्रस्ताव गरेका छन् । बजेट छर्ने पुरानो शैलीबाट अब अर्थतन्त्र चल्न नहुने भन्दै अब प्राथमिकता प्राप्त आयोजनामा स्रोत सुनिश्चिता गरेर मात्र अगाडि बढ्ने सरकारको योजना रहेको बताएका हुन् ।

शुक्रबार अन्तर सरकारी वित्त परिषद्को बैठकमा अर्थमन्त्री डा। महतले यस्तो प्रस्ताव गरेका हुन् । डा। महतले स्रोतको पहिचान नभएका आयोजनाबाट जनता झुक्याउने काम मात्र हुने बताए ।

‘यी कुरालाई म कत्ति रोक्न सक्छु, थाहा छैन, तर मेरो क्षमता, योग्यता र नियन्त्रणले भ्याएसम्म बढाऔं,’ उनले भने, ‘सबैमा स्रोत सुनिश्चिता गर्ने भनेको होइन, तर हाम्रो स्रोतले भ्याउने आयोजना छनोट गरौं, छनोट गरिएको आयोजनाको कार्यान्वयन सुनिश्चितता गरौं ।’

बैठकमा अर्थमन्त्री डा। महतले तिनै तहका सरकारको महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै यो जिम्मेवारी प्रभावकारी ढंगले पुरा गर्नुपर्ने अहिलेको चुनौती भएको उनको भनाइ छ ।

प्रदेश सरकार एउटा कार्यकाल पुरा गरेर दोस्रो कार्यकालमा प्रवेश गरेको सन्दर्भ निकाल्दै उनले स्थानीय तह धेरैपछि अस्तित्वमा आएको बताए । यी अनुभवबाट सिक्दै, यसको दक्षता र प्रभावकारिता बढाउन जरुरी रहेको उनले बताए । अन्तर सरकारी वित्त परिषद्‍मा स्थानीय, प्रदेश र विज्ञहरुले उठाएका सवाललाई केन्द्र सरकारले गम्भीरताका साथ लिने र समाधानको उपाय खोज्ने मन्त्री डा। महतले बताए ।


प्रतिकृया दिनुहोस्