दोलखा, बैशाख ६- दोलखाको मेलुङ गाउँपालिकामा सिस्नो प्रसोधन सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर-५ सिस्नो प्रसोधन गरि पाउडर बनाउन थालिएको हो । गाउँपालिकाको लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सिस्नो प्रसोधन गरि पाउडर बनाउन थालिएको हो ।
छुँदा च्वास्स पोल्ने र शरीर झमझमाउने सिस्नोलाई प्रसोधन गरेर पाउडर उत्पादन गरी विक्री गर्दा स्थानीयवासीको आयआर्जनमा टेवा पुग्ने गाउँपालिकाको विश्वास छ ।
जंगलमा खेर गैरहेको सिस्नोलाई आम्दानीको स्रोतको रुपमा उपयोग र रोजगारी सिर्जनाका लागि पाउडर उद्योग सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष हिरा थोकरले जानकारी दिए ।
उद्योग सञ्चालन भएपछि गाउँ नजिकैको पाखो, खेतबारीका कान्ला, खोल्सामा खेर गैरहेको सिस्नोको मुना टिपेर स्थानीयले आम्दानी गर्न थाल्ने छन् । सिस्नोको कलिलो मुनालाई टिपेर घाममा सुकाई मिलमा पिसेर बनाइने पाउडरलाई प्याकेजीङ गरेर बजारमा पठाउने गरिन्छ ।
कुनै समय गरिबको खानाको रुपमा चिनिएको सिस्नो पछिल्लो समय सहर बजारका धनाढ्य वर्गका मानिसहरुको भान्छाको परिकार बन्न थालेको छ । स्वास्थ्यवद्र्धक र औषधिको रुपमा सिस्नोको पाउडरलाई सुप बनाएर उपयोग गरिन्छ । पोषिलो हुनुका साथै शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने भएकाले सिस्नोको माग बढेको छ ।