Skip

Hamro Sanchar

देउवाको दाबी : अब फेरि कांग्रेसले सरकारको नेतृत्व लिन्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, २८ गते


काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अब फेरि कांग्रेसले सरकारको नेतृत्व लिने दाबी गरेका छन् । सभापति देउवाले अहिले काँग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै फेरि सरकारको नेतृत्व लिन सक्ने बताएका हुन् ।

मंगलबार काठमाडौँमा आयोजित पार्टी निकट नेपाल शिक्षक संघको नवौँ संघीय महाधिवेशनमा बोल्दै उनले अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचे अनुसार काम गर्न सक्ने अवस्था नभएको पनि स्पष्ट पारे ।

उनले भनने, ‘आज हाम्रो पार्टी सरकारमा छ । भोलि सरकारको नेतृत्व गर्न सक्ने सम्भावना पनि छ । धेरै वर्ष सरकारको नेतृत्व गरेको पनि हो । तर अझै यो पार्टी एकदमै अहिलेको संविधान अनुसार कुनै पनि पार्टीले बहुमत प्राप्त गर्न सकेको छैन । तापनि भोलि हामी सबै लागेर नेपाली काँग्रेसलाई बहुमत ल्याउनेतिर हामी सबै लाग्यौँ भने, यसमा शिक्षक संघको पनि योगदान भयो भने हाम्रो पार्टीले बहुमत नै ल्याउन सक्ने सम्भावना छ । त्यस कारणले अहिले संयुक्त सरकार भएको हुनाले कति कुरामा काम गर्न समस्या हुन्छ । हुन त अहिलेको संविधान अनुसार गठबन्धन अति आवश्यक छ । गठबन्धन नभई सरकार बन्दै बन्दैन । गठबन्धन सरकारमा हामी सहभागी भएका छौँ । त्यसले हाम्रो पार्टीलाई एउटा बल पुर्‍याएको छ अगाडि बढ्न । यसमा शिक्षक साथीहरूको योगदान हुन नै छ । उहाँहरूले बुझ्नु नै हुनेछ । मलाई धेरै कुरा भन्नु छैन । अझै पनि नेपाली काँग्रेस बलियो हुन जरुरी छ । नेपाली काँग्रेसको ठाउँठाउँमा जो संठगनमा समस्या छ । त्यो समाधान हुन जरुरी छ । यसमा शिक्षक संघको ठुलो भूमिका हुनेछ ।’

त्यस अवसरमा सभापति देउवाले शिक्षकहरूको उचित सम्मानका लागि आफ्नो पार्टीले आगामी दिनमा काम गर्ने आश्वासन दिए । विगतमा शिक्षकहरूले पार्टीका लागि सहयोग गरे पनि उनीहरूको हितमा धेरै काम गर्न नसकेको उनको स्वीकारोक्ति थियो ।


प्रतिकृया दिनुहोस्