Skip

Hamro Sanchar

एकीकृत समाजवादीको तीन मन्त्रालयको अडान कायमै, दुई नेताको राजिनामा स्वीकृत

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, १४ गते


काठमाडौं, चैत १४- नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकमा सरकारमा सहभागिताबारे छलफल भएको छ । पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा सरकारमा सहभागी हुन तीन मन्त्रालयको अडान कायमै राखेको बताए ।

सरकारमा सहभागी हुने विषयमा पार्टीको कार्यदलले छलफल गरिरहेको उनले जानकारी दिए ।

‘प्रधानमन्त्रीले जति चाँडो नाम माग्नुहुन्छ । हामी तत्काल बैठक बसेर मन्त्रीको नाम दिन्छौं । सीटको बाँडफाँड ढिला भएको कारणले हामीले मन्त्रीको नाम दिन पाएका छैनौ । मन्त्रालयको टुंगो गरेपश्चात् हामी तत्काल मन्त्रीको नाम टुंग्याउँछौं । कार्यदलले आफ्नो रिपोर्ट पेश गर्ने काम जारी छ । हामीले तीन मन्त्रालयको दाबी गरेका छौं ।’ खतिवडाले भने । उनले प्रधानमन्त्रीसँगको भेटमा पनि तीन मन्त्रालयको अडान राखेको बताए ।

मंगलबार केन्द्रीय कार्यालयमा बसेको ५५औं सचिवालय बैठकमा अहिलेसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएका कुराकानीबारे ब्रिफिङ गरिएको थियो । बैठकमा उपप्रधानमन्त्रीसहित कम्तीमा ३ मन्त्रालयमा दाबी गर्नेबारे छलफल भएको थियो ।

बैठकले मिटर ब्याजविरुद्ध आन्दोलनमा ऐक्यबद्धतासमेत जनाउने निर्णय गरेको छ । मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारसँग अनुरोध गर्ने र दोषीमाथि कारबाही गर्न पनि एकीकृत समाजवादीको माग छ ।
यस्तै बैठकले पार्टीका उपाध्यक्ष केदार न्यौपाने र स्यायी कमिटीका सदस्य चुडामणि जङ्गलीले दिएको राजिनामा सचिवालयको बैठकले स्वीकृत गरेको छ ।


प्रतिकृया दिनुहोस्