Hamro Sanchar

विष्णु पौडेलको टिप्पणी : जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन्

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, १२ गते


सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेको बताएका छन् । सुर्खेत विमानस्थलमा आइतबार बिहान पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्ष पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०ले संसदबाट दोस्रो पटक विश्वासको मत पाएको लामो समय बित्दा पनि मन्त्रिमण्डल विस्तार नगरेर गठबन्धनले तमासा गरिरहेको टिप्पणी गरेका हुन् ।

‘हामी सुन्दैछौं ठूलो संख्यामा उपप्रधानमन्त्री दाबी भइरहेको छ । दलहरु हामीलाई यति सिट, उति सिट चाहिन्छ भनेर सार्वजनिकरुपमै दाबी गरिरहेका छन्,’ उपाध्यक्ष पौडेलले भने, ‘जनताले गठबन्धनको तमासा हेरिहेका छन् ।’प्रधानमन्त्री दाहालले गत चैत ६ मा विश्वासको मत लिएका थिए ।

पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने निश्चित रहेको र यो गठबन्धनबाट देशको भविष्य नरहेको बताए । ‘मुलुक अहिले ठुलो आर्थिक संकटमा छ, तर यो सरकारको त्यतातिर ध्यान छैन । पद र जिम्मेवारीमा मात्रै गठबन्धनको ध्यान छ । यो गठबन्धनको सरकारबाट केही आष गर्न सकिदैन्,’ उनले भने । उनले एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान सञ्चालन गरिएको बताए ।

पौडेलले गत पुस १० को गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले एमालेलेलाई धोका दिएको बताए । ‘चुनावी गठबन्धनबाट सरकार बन्न नसक्ने भएपछि उहाँलाई केही सर्तसहित हामीले उहाँलाई साथ दियौं । तर उहाँले धोका दिएर जानुभयो,’ उनले भने । यो प्रतिनिधि सभाबाट राजनीतिक स्थायित्व सम्भव नरहेको पौडेलेको दाबी छ ।


प्रतिकृया दिनुहोस्