Hamro Sanchar

कुलमान घिसिङको आह्वान : सबैले बिजुली गाडी प्रयोग गरौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, २९ गते


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली गाडी प्रयोग गर्न सबैलाई आह्वान गरेका छन् । आज सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले बिजुली गाडी प्रयोग गर्न सबैलाई आह्वान गरेका हुन् ।

उनले बिजुलीमा गरिएको लगानी सँगसँगै बिजुली खपत पनि बढाउने कार्ययोजना रहेकाले त्यहीअनुरूप बिजुली गाडीहरू आइरहेका बताएका छन् । घिसिङले पेट्रोल तथा डिजलबाट चल्ने गाडीहरूभन्दा बिजुलीबाट चल्ने गाडी कैयौँ गुणा सस्तो पर्ने बताए ।

घिसिङले बिजुलीको गाडीको प्रयोगले प्रदूषण पनि घट्ने भन्दै बिजुली गाडी प्रयोग गर्नुको फाइदामात्रै भएको बताएका छन् । वातावरणीय र स्वास्थ्य सुरक्षाको दृष्टिले बिजुली गाडी नै उपयुक्त भएको उनले बताएका छन् ।

उनले भने, ‘बिजुलीको खपत बढाउने कार्ययोजनाअन्तर्गत बिजुली गाडीहरू आइरहेको छ, त्यसका लागि सबैलाई बिजुली गाडी प्रयोग गरिदिनुहुन आह्वान गर्छु । बिजुली गाडीको फाइदामात्रै छ । बिजुली स्कुटरमा प्रतिकिलोमिटर २५ पैसादेखि ३० पैसा खर्च लाग्छ । जबकि पेट्रोल, डिजलबाट चल्ने स्कुटरमा प्रतिकिलोमिटर १०र१२ रुपैयाँ खर्च हुन्छ । त्यस्तै बिजुली गाडीमा प्रतिकिलोमिटर खर्च एक रुपैयाँभन्दा कम छ, ६० पैसादेखि ९० पैसाको हाराहारीमा । जबकि पेट्रोल, डिजलबाट चल्ने गाडीमा प्रतिकिलोमिटर १५र२० रुपैयाँ खर्च पर्छ । बिजुली गाडीमा मर्मत खर्च पनि निकै कम हुन्छ । बिजुली गाडीको प्रयोगले प्रदूषण पनि घट्छ । आउँदा दिनमा सबैले बिजुली गाडी प्रयोग गरौँ ।’

कार्यकारी निर्देशक घिसिङले नेपालमा बर्खायाममा पर्याप्त बिजुली रहेको भन्दै आउँदो २ वर्षभित्रमा हिउँदयाममा पनि बिजुली पुग्ने स्थिति हुने बताएका छन्।


प्रतिकृया दिनुहोस्