Hamro Sanchar

पपुवा न्युगिनीविरुद्ध नेपालको सानदार जित

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, २९ गते


Advertisement

काठमाडौं । आइसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा पीएनजीलाई ९ विकेटले हराउँदै नेपालले सानदार जित निकालेको छ। त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले ७।४ ओभरमा मात्र १ विकेटको क्षतिमा पुरा गर्‍यो।

नेपालका लागि ओपनर आशिफ शेखले ५३ रन बनाए। अर्का ओपनर कुशल भुर्तेलले ३३ रन बनाउँदा कुशल मल्ल १२ रनमा अविजीत रहे। नेपालविरुद्ध पीएनजीका चाद सोपरले १ विकेट लिए। टस जितेर फिल्डिङ रोजेको नेपालले घातक बलिङ गर्दा पीएनजी सस्तैमा समेटियो। ३२ ओभरमा १० विकेट गुमाउँदै पीएनजीले जम्मा ९५ रन बनाउन सक्यो।

पीएनजीलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए। यस्तै, ललित राजवंशी र कुशल मल्लले समान २–२ तथा सोमपाल कामीले १ विकेट लिए। पीएनजीका लागि कप्तान असाद भालाले सर्वाधिक २० रन बनाए। यस्तै, सेस बाउले १८, कार्लेस अमिनीले १६, हिरी हिरीले १४, चाद सापेरले ८, हिला भारेले ७, रेल्ली हेकुरेले ४, किप्लिन डोरिगाले २ रन बनाए।

पीएनजीविरुद्धको जितसँगै नेपाल विश्वक छनोटबाट १ खेल मात्रै टाढा छ। लिग २ को शीर्ष ३ मा रहँदै सोझै विश्वकप छनोट खेल्न नेपालले अब यूएईसँग हुने खेलमा जित निकाल्नुपर्नेछ। नेपालले विश्वकप लिग २ को अन्तिम खेल चैत २ गते यूएईसँग खेल्नेछ।


प्रतिकृया दिनुहोस्