Skip

Hamro Sanchar

सुवास नेम्वाङको चुनावी खर्च १६ हजार ५ सय

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, २६ गते


काठमाडौं । राष्ट्रपति निर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङले चुनावी खर्च सार्वजनिक गरेका छन् । आयोगलाई शुक्रबार बुझाएको विवरणमा चुनावमा १६ हजार ५ सय रुपैयाँ खर्च गरिएको उल्लेख छ ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको निर्वाचन अधिकृतको कार्यालयमा नेम्वाङका तर्फबाट एमालेका सांसद महेश बर्तौलाले बुझाएको विवरणमा एक पटक एसएमएस गर्दा १० हजार रुपैयाँ र मसलन्दतर्फ ६ हजार ५ सय खर्च जनाइएको छ ।

बिहीबार भएको राष्ट्रपति निर्वाचनमा नेम्वाङ कांग्रेसका नेता रामचन्द्र पौडेलसँग पराजित भएका थिए । पौडेलले ‍३३ हजार ८ सय २ मतभार प्राप्त गरेका थिए भने नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे ।

राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३१३ सांसद (२४ हजार ७ सय २७ मतभार) ले मतदान गरेका थिए भने प्रदेशतर्फ ५१८ (२४ हजार ८ सय ६४ मतभार) सांसदले मत दिएका थिए ।

चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरुको कूल मतभार ४९ हजार ५ सय ९१ थियो । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३ सय १५ आवश्यक पर्छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरूको हाल कायम रहेको मतभार ५२ हजार ६ सय २८ थियो ।


प्रतिकृया दिनुहोस्