Hamro Sanchar

नाउपाले अध्यक्ष रञ्जितालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, २६ गते


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक गंगाराम थारुले जानकारी दिए ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनमा उपराष्ट्रपति जनता समाजवादी पार्टी जसपालाई दिने सहमति भएको थियो । जस अनुसार जसपाले बाराबाट प्रतिनिधि सभामा निर्वाचित रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति उठाउने निर्णय गरेको थियो ।

तर गठबन्धनमै रहेको नाउपाले उपराष्ट्रपति उम्मेदवारमा श्रेष्ठलाई उठाउने निर्णय गरेको हो । जसपाले यादवलाई उठाउने निर्णय गरे पनि निर्वाचन आयोगले भने उपराष्ट्रपतिमा पुरुषको मनोनयन दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिइसकेको छ ।

आयोगको शुक्रबार बसेको बैठकले पुरुष व्यक्ति (रामचन्द्र पौडेल) राष्ट्रपति निर्वाचित भइसकेकाले त्यो भन्दा फरक (महिला वा अन्य) लिङ्गबाट उम्मेदवार बनाउने निर्णय गरेको हो।

राष्ट्रपति पौडेल खस आर्य समुदायको भएकाले उपराष्ट्रपतिमा महिला वा अन्य लिंगबाट हुने उम्मेदवार पनि फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को मनोनयन हुनुपर्ने आयोगको ठहर छ ।

‘निर्वाचन आयोगले समेत उपराष्ट्रपतिमा महिला उम्मेदवार खोजेकाले हामीले महिलालाई नै उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेका हौं’,नाउपाका प्रमुख सचेतक चौधरीले भने ।


प्रतिकृया दिनुहोस्