Hamro Sanchar

सङ्घीयतालाई सुदृढ बनाउन सबै दल एकजुट होऔँ : जनार्दन शर्मा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, १२ गते


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्वर्दनन गर्दै त्याग र बलिदानबाट प्राप्त संविधानको सफल कार्यान्वयन गरेर देशलाई समृद्धिको यात्रामा अगाडि लैजान सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा आफ्नो धारणा राख्दै उनले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद निर्माणका लागि साझा सहमति जुटाउनुपर्नेमा जोड दिएका हुन् । उनले जनताको घरदैलोको सरकारका रुपमा रहेको स्थानीय सरकारलाई सबल र सक्षम बनाउनुपर्नेमा समेत जोड दिएका छन् ।

उनले सङ्घीयतालाई सुदृढ बनाउन विभिन्न ऐन निर्माणको कामलाई तत्काल अगाडि बढाउनुपर्ने र प्रदेश सरकारलाई सबल र सक्षम बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । आवधिक योजनाको लक्ष्य पूरा हुन नसकेको र अनेकन कारणले समस्या देखिएको भन्दै कार्यान्वयनमा देखिएका जटिलता हटाउनुपर्ने उल्लेख गरेका छन्।

जमिन बाँझो हुने, अपार प्राकृतिक स्रोत खेर गएको, युवा विदेशिन बाध्य भएको तथ्य पेश गर्दै उनले उपयोग हुन नसकेको स्रोत साधनको सदुपयोग गर्दै समृद्धिको महाअभियान सुरु गर्नुपर्ने बताए । लघुवित्तको बदमासीका कारण नागरिकले दुःख पाएकाले तत्काल सरकारले समस्या समाधानका लागि पहल लिनुपर्ने स्पष्ट पारेका छन्। शर्माले सन्तुलित परराष्ट्र नीतिको बढावा दिनुपर्नेमा जोड दिएका छन्। संवैधानिक राष्ट्रपतिलाई कार्यकारी राष्ट्रपतिको चयन गर्ने जसरी बहस भइरहेकामा आपत्ति प्रकट गर्दै उहाँले राष्ट्रिय सहमतिका आधारका विषयको टुङ्गो लगाउनुपर्ने शर्माको भनाई छ ।


प्रतिकृया दिनुहोस्