काठमाडौं । कैलाली निर्वाचन क्षेत्रनम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुण चौधरी रिहा भएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका चौधरीलाई प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएकी थिइन् ।
१३ वर्ष पुरानो आगजनी मुद्दामा दोषी ठहर भएका चौधरी सांसद निर्वाचित भएपछि गत माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए । उनलाई कैलालीको जिल्ला कारागारमा राखिएको थियो । वि.स.२०६६ भदौ ३ गते लु२त २११ नम्बरको ट्रयाक्टर जलाएको अभियोगमा दोषी ठहर भएका चौधरीले कैद भुक्तान गर्न बाँकी थियो ।
कारागारबाट रिहा भएपछि सांसद चौधरीलाई पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलगायतले स्वागत गरेका छन् ।
यस्तै राष्ट्रपतिको आममाफीबाट कारागारमुक्त भएका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का नेता अरुण कुमार चौधरीले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाएका छन् । कैलाली कारागारबाट आज बिहान रिहा भएपछि पत्रकारहरुसँग कुरा गर्दै चौधरीले आफूमाथि प्रतिशोध साधिएको आरोप लगाएका हुन् । १८ दिनको कारागार बसाइँले धेरै कुरा सिकाएको बताउँदै उनले भने, ‘आज जुन हिसाबले म भित्र आएँ, त्यो त एउटा राजनीतिक प्रतिशोधको हिसाबले भित्र आएको हो जस्तो लागिरहेको छ ।’
उनले अगाडि भने, ‘यो सानो पार्टी छ, जसरी उठिराछ, त्यसरी नै खुम्चाइदिउँ भन्ने जुन परिपाटी देखियो त्यो नेपालको राजनीतिमा त्यति राम्रो देखिएको छैन ।’ २०६६ भदौ ३ गते बन्दको अवज्ञा गरेको भन्दै ट्याक्टर जलाएको आरोपमा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनामाथि ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । तर उनीहरु फरार भएका थिए । उनी गत वैशाखको प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनी गत माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए ।
तर जिल्ला अदालतको फैसलाबारे आफूले जानकारी नपाएको र सफाइ पेस गर्ने मौका पनि नपाएको उनले दाबी गरे । ‘म तीनचोटी चुनाव लडिसक्या छु । २०७४ को कानुनमा पनि लेखिसक्या छ । म त्यतिखेर पनि आफ्नो सफाइको लागि पेश गर्न सक्थें, उच्च अदालतमा पनि जान सक्थें । मैले त्यतिखेर मौकै पाएन । जानकारी नभएपछि मौका कसरी पाउन रु’ उनले भने । मेरो नाम फरार सूचीमा छ कि छैन भनेर सोध्दा जिल्ला प्रहरी कार्यालयले पनि छैन भनेको चौधरीले दाबी गरे ।
आममाफी दिएकामा राष्ट्रपति कार्यालय, नेपाल सरकार र गृह मन्त्रालयलाई उनले धन्यवाद पनि दिए ।