काठमाडौं। नेकपा (मसाल)ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता अमेरिकी ‘साम्राज्यवाद’ र सीआईएसँग भएको आरोप लगाएको छ
मसालका महामन्त्री मोहन विक्रम सिंहले मंगलबार विज्ञप्ति जारी गर्दै रविको नागरिकता र पासपोर्टप्रति सबैको ध्यान गएको तर, उनको अमेरिकी साम्राज्यवाद र सीआईएसँगको संलग्नतातर्फ ध्यान नगएको जनाएको छ ।
उनको अमेरिकी संलग्नता नेपालको राजनीतिमा अत्यन्त घातक रहेको मसालको ठहर छ भन्दै विज्ञप्तिमा भनिएको छ–‘चौतर्फी दबाबका बाबजुद प्रधानमन्त्री पुष्पकमल दाहालले लामिछानेलाई पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेकोप्रति धन्यवाद छ ।’
गैरनेपाली व्यक्तिलाई वर्तमान सत्ता गठबन्धनले देशको उपप्रधानमन्त्री तथा गृह मन्त्रालयको जिम्मेवारी सुम्पने कार्यप्रति वर्तमान सत्ता गठबन्धनले जवाफ दिनुपर्नेमा पनि मसालले जोड दिएको छ । त्यसैगरी, प्रधानमन्त्री दाहालले रविलाई पुनः गृहमन्त्री नबनाएर केही हदसम्म आफ्नो गल्ती सच्याएको वक्तव्यमा उल्लेख छ ।
नेपाली सञ्चार क्षेत्रले रविप्रति सही राजनीतिक दृष्टिकोण अपनाएकोमा पनि मसालले धन्यवाद दिएको छ । ‘रविले सञ्चार माध्यमहरूप्रति अन्यन्तै निम्नस्तरको गालीगलौजको भाषामा जुन आक्षेप लगाएका छन्, ती भर्त्सना र निन्दायोग्य छन्’ मसालले भनेको छ । तर, नेकपा एमालेका अध्यक्ष केपी ओलीले सर्वोच्चको फैसलाको विरोधमा र रवि लामिछानेको पक्षमा जसरी वकालत गरे, त्यसले उनको राजनीतिक दिवालियापनलाई नाङ्गो प्रकारले प्रदर्शन गरेको समेत मसालको ठम्याइ छ।
घटनाक्रमबाट रवि लामिछानेमा इमानदारिता नभएको कुरा त पहिले नै प्रष्ट भइसकेको थियो भन्दै विज्ञप्तिमा भनिएको छ–‘पत्रकार सम्मेलनको बेलामा उनले दिएका अभिव्यक्ति वा उनले प्रकट गरेको आक्रोशबाट उनको राजनीतिक स्तर पनि नभएको कुरा प्रष्ट भएको छ ।’
रवि लामिछानेको अवैध नागरिकता वा दोहोरो नागरिकताबारे धेरै कुरा उठेको भन्दै मसालले अगाडि लेखेको छ–‘त्यो कारणले उनी उपप्रधानमन्त्री र गृहमन्त्रीका साथै सांसदको पदबाट पनि हट्नुपरेको छ र त्यो कुरालाई हाम्रो पार्टीले स्वागत गरेको छ ।’विज्ञप्तिमा थप भनिएको छ–‘रविको समस्यालाई खाली अवैध नागरिकता र दोहोरो पासपोर्टको रूपमा मात्र बुझ्नु त्यसबाट सम्भावित वास्तविक राष्ट्रिय खतराप्रति आँखा चिम्लनु हुने छ ।’