
रुपन्देही । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसी पक्राउ परेका छन् । अवैध कारोबार गरेको आशंकामाप्रहरी अनुसन्धान टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय काठमाडौंबाट आएको अनुसन्धान टोलीले आइतबार साँझ केसीलाई निवासबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि छानबिन सुरु गरेको थियो । डिएसपी केसीले सुन नियन्त्रणमा लिई व्यापारसँग २५ लाख मागेको र सोही अनुसारको रकम बुझाएपनि केसीलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको हो । इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारी थिए ।
उनी स्थानीय निर्वाचनअघि गृहमन्त्री बालकृष्ण खाणको योजनामा बुटवल आएका थिए । स्थानीय निर्वाचनको समयमा तिलोत्तमामा जनप्रतिनिधिलाई पानीमा चोबलेर विवादमा आएका उनलाई गृहमन्त्रीकै दबाबमा छुट दिइएको आरोप लाग्दै आएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले डिएसपी केसी अनुसन्धान टोलीको नियन्त्रणमा परेको र यसबारे थप बुझेर जानकारी दिने बताएका छन् ।