काठमाडौं, पुस ९- सिन्धुपाल्चोकमा भर्याङको सिँढीबाट लडेर एक जना पुरूषको मृत्यु भएको छ । शुक्रबार राति १० बजे बलेफी गाउँपालिका-४ माथिल्लो बजार बस्ने ४५ वर्षीय शेरबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवकुमार बुढाथोकीले जानकारी दिए ।
पौने ९ बजे ४६ वर्षीया श्रीमती केशरी भुई तलामा रहेको सिलिङ पंखामा पासो लगाएर झुन्डिइन् । झुन्डिएको थाहा पाएपछि माथिल्लो तलामा बसेका शेरबहादुर आत्तिएर होहल्ला गर्दै तल ओर्लिएका थिए । तल झर्ने क्रममा एक्कासी सिँढीबाट लडेर शेरबहादुर घाइते भएका थिए । घाइते भएका उनको उपचारको लागि सिन्धुबहार अस्पताल लगिएको थियो । त्यही उपचारको क्रममा मृत्यु भएको हो ।
झुन्डिएर आत्महत्याको प्रयास गर्ने केशरीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर छ । उनीहरू दुबै जनालाई गाउँलेले अस्पतालमा पुर्याएका थिए ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।