काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मन्त्री बनेर सरकारमा नजाने घोषणा गरेका छन् । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थापा ३९ मतान्तरले पराजित भएका छन् । ६४ मतका साथका दलको नेतामा देउवा निर्वाचित हुँदा थापाले २५ मत पाए ।
चुनाव हारेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले कांग्रेस संसदीय दलका नेताको नेतृत्वमा सरकार बनाउन पहल गर्ने बताए । तर आफू सरकारमा नजाने उनको घोषणा छ । उनले भने, ‘सरकारमा अरु साथीहरू जानुहुन्छ । म त फेरि संसदीय दलको नेता हुन कोसिस गर्छु । योभन्दा बाहेक सरकारमा जाने अहिले गर्नु हुन्न, म गर्दिनँ ।’
यस्तै थापाले संसदीय दलको नेताको चुनावमा पाएको मत अपेक्षाकृत नभएको बताएका छन् । दलको नेतामा प्रतिस्पर्धा गरेका थापा, सभापति शेरबहादुर देउवासँग ३९ मतान्तरले पराजित भएका थिए । मत परिणाम सार्वजनिक भएपछि थापाले भने, ‘यो परिणाम अपेक्षाकृत होइन । तर म थाक्दिनँ, निराश हुन्न । थप मिहिनेत गर्छु ।’