Skip

Hamro Sanchar

प्रचण्डले भने : म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, २८ गते


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू छिट्टै प्रधानमन्त्री बन्ने संकेत गरेका छन् । बुधबार कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजित कार्यक्रममा प्रचण्डले भनेका छन्, ‘तपाईंहरुको आशिर्वाद लाग्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु ।’

पहिलो कार्यकाल विधि, प्रक्रिया बुझ्न नपाई बितेको र दोस्रो कार्यकालमा मधेश, पहाड, हिमाललाई एकावद्ध गर्ने प्रक्रियामा भूमिका खेलेको सुनाएका उनले बाँकी जीवन सुशासन र विकासका निम्ति समर्पित गर्ने प्रण गरेको बताए ।

माओवादी अध्यक्ष प्रचण्डले अघि भने, ‘यो पटक देशको नेतृत्व गर्ने अवसर पाउँदा केही अविश्मरणीय विकासका योजना अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु ।’

नयाँ दलहरुको उदय प्रमुख दलहरुलाई चुनौतीसँगै अवसर भएको उनले बताए । प्रचण्डले भनेका छन्, ‘गम्भीर समीक्षासहित सुशासन, विकास र समृद्धिको दृष्टिले यो अभियान सुरु गर्न सकेनौं भने आउने दिन चुनौतीपूर्ण हुनेछ ।’देशको विकासका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य शर्त बनेको भन्दै माओवादी अध्यक्ष प्रचण्डले देशको नेतृत्व गर्ने अवसर पाए केही नयाँ गर्ने बताए ।

उनले अगाडि भने, ‘हामीले आफ्नो घोषणापत्रमा भनेका छौं ०४७ सालयताको राजनीतिक नेतृत्व र सरकारमा रहेका विशिष्ट व्यक्तिहरुको सम्पत्ति छानबिन गरेर भ्रष्टाचार गरेको देखियो भने कडा कारबाही गर्नुपर्छ ।’

यो पटक गोरखा क्षेत्र नम्बर २ बाट चुनाव जितेका माओवादी अध्यक्ष प्रचण्डले समय भनेको जस्तो भयो अर्को पटक कास्की हुन पनि बेर नलाग्ने समेत बताएका छन् ।


प्रतिकृया दिनुहोस्