Hamro Sanchar

दाइजोकै निहुँमा श्रीमतीलाई कुटपिट गरी घर निकाला गरेका डा.पंकज चौधरी पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, २८ गते


Advertisement

जनकपुरधाम । दाइजोकै निहुँमा श्रीमतीलाई कुटपिट गरी घरबाट निकाला गरेका डा.पंकज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको रामगोपालपुर ५ का अन्दाजी ३५ वर्षीय डा.पंकजलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।

मंगलबार साँझ पंकजलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले पुष्टि गरेका छन् । उनले घरेलु हिंसा र दाइजोविरुद्धका मुद्दामा पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको बताए । मंगलवार दिउँसो डा.पंकजको घरमा बस्न उनकी श्रीमती नेहा पुगेकी थिइन् ।

तर घरमा पस्न नदिएपछि नेहा गेट अगाडी धर्ना बसिन् । त्यसपछि प्रहरीले उनका श्रीमान् डा.पंकजलाई पक्राउ गरेको प्रहरीले बतायो । अहिले डा.पंकजलाई जिल्ला प्रहरी कार्यालय जलेश्वरको हिरासतमा राखिएको छ । नेहाले भने आफूलाई कुटपिट गरी घर निकाला सासू र ससुराको पनि संलग्नता रहेकाले उनीहरूलाई पनि पक्राउ गर्नुपर्ने माग गरेकी छन् ।

डा.पंकज पक्राउ परेपछि उनका परिवारका सबै फरार भएका छन् । अहिले घरको गेटमा ताला झुण्डिएको छ । एसपी पंगेनीले कानून बमोजिम पक्राउ गर्नुपर्ने सबैलाई गर्ने बताए । गत फागुनमा महोत्तरीकै औरही नगरपालिका १ की नेहा र डा.पंकजबीच विवाह भएको थियो । विवाहमा नेहाका परिवारले नगद र सुनचाँदी गरी १ करोड बढी रुपैयाँ दाइजो दिएको थियो ।


प्रतिकृया दिनुहोस्