काठमाडौं । नेकपा एमालेले महाकाली नदीमा भारतले एकलौटी रुपमा अगाडि बढाएको कामलाई रोक्न सरकारसँग माग गरेको छ । महाकाली नदीको धार नै परिवर्तन हुने गरी भारतीय पक्षले लगाएको पर्खालको विषयमा सरकारको मौनताप्रति एमालेले प्रश्न उठाएको हो ।
महाकाली नदी नेपाल र भारतको सीमा भएकाले भारतले नेपालाई असर पर्ने गरी एकपक्षीय रुपमा संरचना बनाउन नमिल्ने एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले बताएका छन् ।
‘महाकाली नदी सीमा नदी हो । सिमानामा बनाउने संरचनाले अर्कातिर असर गर्छ भने एकपक्षीय रुपमा बनाउन मिल्दैन’, उनले फेसबुकमा लेखेका छन्, ‘नदीको धार नै परिवर्तन हुने गरी महाकालीमा जे भइरहेको छ यो तत्काल रोकी यस मामलामा द्विपक्षीय वार्ता गरी सहमति खोजियोस् । यो मामला संघीय सरकारको भएकोले केन्द्रबाट नै पहल हुनुपर्छ ।’
नदीको धार नै परिवर्तन हुने गरी महाकालीमा भइरहेको कामलाई रोकेर द्विपक्षीय वार्ताबाट सहमति खोज्न उनले सरकारलाई आग्रह गरेका छन् ।