Hamro Sanchar

प्रचण्ड भन्छन् : हामी गठबन्धन भन्दा दायाँबायाँ गर्ने स्थितिमा छैनौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, १८ गते


Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन नटुट्ने स्पष्ट गरेका छन् । पार्टीको आइतबार बसेको पदाधिकारीको अनौपचारिक बैठकमा प्रचण्डले सत्ता गठबन्धन दायाँबायाँ नहुने स्पष्ट गरेका हुन् ।

उनले सत्ता गठबन्धनका चार दल र लोसपासहित मिलेर चुनाव लगिएको स्मरण गर्दै गठबन्धन र तालमेलको भावनाअनुसार नै नयाँ सरकार बन्ने बताएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार गठबन्धनबाट पार्टी दायाँबायाँ नहुने भएकाले सोहीअनुसार आफ्नो गतिविधि गर्न पनि नेताहरूलाई निर्देशन दिएका छन् ।

‘हामी गठबन्धनकै पक्षमा छौँ र हुन्छौं’, प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘हामी गठबन्धन भन्दा दायाँबायाँ गर्ने स्थितिमा छैनौँ । यसरी जाँदा कसैले लाञ्छना लगाउने भन्ने पनि हुँदैन । यो कुरालाई तपाईँहरुले चिरेर जानुस् ।’शनिबार माओवादीले एमालेसँग सहकार्य गर्नसक्ने भनेर बाहिर मेसेज गएपनि पार्टी त्यो अवस्थामा नपुगिसकेको प्रचण्डले बैठकमा बताएका थिए ।

बैठकपछि माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि पार्टीले हाल कायम रहेको गठबन्धनको विकल्प खोजिनसकेको स्पष्ट पारेका छन् । उनले पार्टीको पदाधिकारी बैठकमा चुनावकै विषयमा छलफल केन्द्रित भएको पनि जिकिर गरेका छन् ।


प्रतिकृया दिनुहोस्