Hamro Sanchar

माधव नेपालको आग्रह : गफाडी ओलीलाई भोट नदिनू, नत्र देशै डुब्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, १ गते


Advertisement

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली जस्तो गफाडीलाई मत दिए देशै डुब्ने टिप्पणी गरेका छन् । काठमाडौं क्षेत्र नम्बर २ को सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेपालले अपवित्र गठबन्धन बनाएका केपी ओलीलाई जनताले मत दिन नहुने बताएका हुन् ।

नेपालले भने ‘केपी ओली सत्तामा हुँदा हावादारी कुरा गरे । घर-घरमा ग्यासको पाइप लाइन जोड्ने भने । पुस १६ गते रेल आउँदैछ टिकट काटेर महाकालीमा जान आह्वान गरे’ नेपालले भने, ‘यस्ता हुने नहुने गफ हाक्ने यस्ता गफाडी यो देशको प्रधानमन्त्री हुन पुगे । अब पनि तिनै गफाडीलाई मत दिएर जितायो भने देशै डुब्छ । जनताको भविष्य चौपट हुन्छ ।’

जनताको भविष्य राम्रो बनाउने हो भने चुनावमा प्रतिगामी गठबन्धनलाई पराजित गर्नुपर्ने नेपालले बताएका छन् । ‘केपी ओलीको राजावादीसँग साँठगाँठ गर्ने गठबन्धन देश विखण्डन गर्ने गठबन्धनलाई जनताले दण्डित गर्नैपर्छ । जनताले सजाय दिनैपर्छ’ नेपालले भने । तर, आफू समेत सहभागी भएको यो सत्ता गठबन्धन पवित्र उद्देश्यले बनाएको नेपालले दाबी गरेका छन्।

‘केपी ओली नेतृत्वको गठबन्धन अपवित्र उद्देश्यले निजी स्वार्थका लागि बनाएको हो । देशको हित गर्न होइन । देशलाई डुबाउनलाई, देशको सार्वभौम सत्तालाई आँच पुर्याउन, जनतालाई सताउन, सत्ताको दुरुपयोग गर्न र आफू मात्रै सत्ताको हालीमुहाली गर्न बनाएको हो’ अध्यक्ष नेपालले भने ।


प्रतिकृया दिनुहोस्