विराटनगर । मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभाका लागि नेपाली कांग्रेसले मानबहादुर लिम्बूलाई टिकट दिएको छ । नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति समेत रहेका लिम्बू लाई सो क्षेत्रका उम्मेद्वार तथा प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षणमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपछि निर्वाचन आयोगले कांग्रेसलाई नयाँ उम्मेद्वारको मनोनयनका लागि समय दिएको थियो।
नेपाली कांग्रेस प्रदेश १ का उपसभापति रमेशजंग रायमाझीले लिम्बूले टिकट पाइसकेको पुष्टि गरेका छन् । मानबहादुर लिम्बूले टिकट पाइसकेको बताउँदै उनले लिम्बूको मनोनयनको तयारी भइरहेको जानकारी दिए । थापाको हिजो बिहान १० बजेर ४० मिनेटमा नोबेल अस्पतालमा मृत्यु भएको थियो।
सत्ता गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका थापा असोज २३ गते उम्मेद्वारी दर्ता गराउँदा नै थापा बिरामी थिए । उनलाई काठमाडौंस्थित ह्याम्स अस्पतालमा १७ दिन आइसियु र ५ दिन वार्डमा राखेर उपचार गरिएको थियो।
थापालाई क्याप्सिका निमोनिया भएको थियो । उनलाई गत सोमबार बेड रेस्टको लागि भन्दै नोबेल अस्पताल ल्याइएको थियो। मन्त्री थापाको निधन पछि लिम्बूले टिकट पाएसँगै एमालेबाट उम्मेद्वार बनेका दिलिप राईसँग प्रतिस्पर्धा गर्ने भएका छन् । यसअघि को निर्वाचनमा एमालेलाई पराजित बनाउदै कांग्रेसका सुर्यमाराज राई विजयी बनेका थिए ।