काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय नियन्त्रणमा रहेको नेपाली भूमि फिर्ता ल्याउनका लागि भारतसँग कुरा गर्नुपर्ने बताएका छन् । उनले संसद्ले एकमतले नेपालको नक्सामा राखेको भूमिलाई लिएर राजनीति गर्नुभन्दा पनि भारतसँग वार्ता गरेर फिर्ता ल्याउनुपर्ने बताएका हुन् ।
दार्चुलाको गोकुलेश्वरमा बुधबार आज आयोजित कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलहरूको गठबन्धनको चुनावी सभालाई सम्बोधन गदैै देउवाले भारतीय नियन्त्रणमा रहेको नेपाली भूमि फिर्ता ल्याउन सबैको एकमत रहेको बताए । कालापानी, लिपुलेक र लिम्पियाधुराबारे एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रम फैलाएको प्रधानमन्त्री को भनाइ थियो ।
प्रधानमन्त्री देउवाले नक्सामा राखेको भूमिलाई फिर्ता ल्याउन भारतसँग छलफल गर्नुपर्नेमा जोड दिएका छन् । एमालेका अध्यक्ष केपी ओलीतर्फ संकेत गर्दै उनले दार्चुला आएर कालापानी, लिपुलेक र लिम्पियाधुराको जिकिर गरेर भूमि फिर्ता नआउने बताए ।
उनले भने, ‘यो भूमि फिर्ता लिनका लागि भारतसँग कुरा गर्नुपर्छ। सम्पूर्ण एक भएर वार्ता गरेर भूमि फिर्ता ल्याउनुर्छ । ओलीजीले यहाँ आएर बोलेर हुँदैन । भारतसँग कुरा गर्नसक्नुपर्छ। हामी कुटनीतिक रुपमा पहल गछौँ ।’
नेपालको भूमि फिर्ता ल्याउन सबै राजनीतिक दल एकमत रहे पनि एमाले अध्यक्ष ओलीले राजनीति गरिरहेको र आफूले मात्रै नक्सामा भूमि राखेको भनेर भ्रम फैलाएको देउवाको भनाइ थियो । त्यस्तै, देउवाले लामो लडाइँपछि लोकतान्त्रिक व्यवस्था स्थापना भएको र त्यसलाई जोगाएर अघि बढ्न गठबन्धन भएको पनि बताए ।
चुनावले राष्ट्रलाई कुन दिशामा लाने भन्ने निर्णय गर्ने भएकाले सचेत रहन पनि मतदातालाई देउवाले आग्रह गरेका थिए । उनले गठबन्धनमा रहेका दलहरू एकताबद्ध रहेकाले कसैमा पनि कुनै शंका नराख्न आग्रह गरेका थिए ।