Hamro Sanchar

रावल र भुसाललाई ओलीले भने- पार्टीको पक्षमा एक शब्द बोल्नु छैन, के को टिकट?

प्रकाशित : २०७९ कात्तिक, ६ गते


Advertisement

काठमाडौं, कात्तिक ५- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय भीम रावल र घनश्याम भुसालले टिकट नपाउनु स्वाभाविक रहेको बताएका छन् ।

ललितपुरमा आयोजित कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै ओलीले एमालेको पक्षमा नबोल्ने र पार्टीको आन्दोलनको हितमा नबोल्ने नेताहरूले टिकट नपाउनु स्वाभाविक रहेको बताएका हुन् ।

एमालेबाट पटक-पटक अवसर पाएर पनि पार्टीको हितमा नबोलेकाले उनीहरूलाई टिकट नदिएको ओलीको भनाइ छ ।

‘एकै जना मान्छेले मात्रै पाइरहनुपर्ने छ र ? काम कस्तो गरेको छ, त्यो नभनौं । पार्टीको पक्षमा एक शब्द कहिल्यै बोलेको होइन । पार्टीको हितमा एक शब्द बोलेको होइन । आन्दोलनको हितमा एक शब्द बोलेको होइन,’ ओलीले भने, ‘अरू अरू ठाउँमा तमासा देखाइएको छ । त्यस्तो मान्छे एकाधले पाएन । स्वाभाविक हो नि । पालो गर्नु पर्दैन ?’

एकाध मान्छेले टिकट नपाएकोप्रति सहानुभूति देखाउन जरूरी नरहेको ओलीले बताए ।

‘के उहाँहरू बिना पार्लियामेन्ट नै नचल्ने हो र ? यस्ता विषयमा अल्झेर नबस्न म साथीहरूलाई आग्रह गर्न चाहन्छु,’ ओलीले भने, ‘कोही अवसरै अवसरले थिचिने, कोही अवसरको नजिक पनि पुग्ने नपाउने असमान र विभेदकारी व्यवहार एमालेमा हुँदैन ।’


प्रतिकृया दिनुहोस्