हेटौंडा, भदौ २१- ५१ वर्षीय शिवप्रसाद खनाल मकवानपुरको मनहरी गाउँपालिका–१ का वडाध्यक्ष छन् । बाराको कलैयास्थित सिद्धेश्वर संस्कृत विद्यालयबाट २०४८ सालमा एसएलसी उत्तीर्ण गरेपछि उनको औपचारिक शिक्षा रोकिएको थियो । तर, उनै खनाल पढाइ छाडेको ३१ वर्षपछि गाउँकै बाल जीवनज्योति माविमा भर्ना भएका छन् ।
विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका खनालले पहिलो पटक सञ्चालित कक्षा ११ को शिक्षा संकाय अध्ययन गर्न थालेका हुन् । शैक्षिक योग्यता नहुँदा विभिन्न अवसरबाट वञ्चित हुनुपरेको खनालको भनाइ छ । क्षमता अभिवृद्धि गर्न र अधुरा सपनालाई अघि बढाउन कक्षा ११ मा भर्ना भएको उनले बताए ।
उनी सकेसम्म नियमित विद्यालय जान्छन् । विद्यालय परिसरसँगै वडा कार्यालय छ । त्यसैले पनि उनलाई पढ्न र वडाको काम गर्न सजिलो भएको छ । अन्नपूर्ण पोष्टमा खबर छ ।