Hamro Sanchar

प्रचण्डले राष्ट्रपतिलाई भने- नागरिकतामा तपाईंको चासो र हाम्रो धारणा समान छ

प्रकाशित : २०७९ भदौ, १५ गते


Advertisement

काठमाडौं, भदौ १५- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिक विधेयकमा राष्ट्रपति विद्या देवी भण्डारी र आफूहरुको धारणा एउटै रहेको बताएका छन् ।

शीतल निवासमा बुधबार भएको भेटमा अध्यक्ष प्रचण्डले राष्ट्रपति भण्डारीले नागरिकताको बारेमा व्यक्त गरेको चासो र माओवादीको आधार समान रहेको बताएका हुन् ।

अध्यक्ष दाहालले नागरिकता विधेयकमा राष्ट्रिय सहमतिको आवश्कता रहे पनि त्यो हुन नसकेको बताए । ‘अंगीकृत नागरिकताको बारेमा राष्ट्रपतिज्युले राख्नुभएको चासो र हाम्रो धारण समान छ । तर संसदमा यो विषयमा राष्ट्रिय सहमति बन्न सकेन,’ प्रचण्डका स्वकीय सचिव गंगा दाहालले भनेकी छन् ।

उनले नागरिकता विधेयकमा कुनै पनि नयाँ व्यवस्था नरहेको बताए। जन्मसिद्ध नागरिकताका सन्ततिहरु राज्यविही बन्ने अवस्था अन्त्य गर्न विधेयक ल्याइएको प्रचण्डको भनाइ थियो ।

संसद्‌को दुवै सदनबाट बहुमतले पारित गरेर प्रमाणिकरणका लागि पठाइएको नागरिकता विधेयकलाई राष्ट्रपति भण्डारीले गत साउनको अन्त्यतिर सुझावसहित संसद्‌मै फिर्ता पठाएकी थिइन् । त्यसपछि संसद्‌ले पूर्ववत् विधेयक नै हुबहु पारित गरेको थियो । आफ्नो सुझावलाई बेवास्ता गरेको भन्दै राष्ट्रपति भण्डारीले असन्तुष्ट रहँदै आएकी थिइन् ।


प्रतिकृया दिनुहोस्