काठमाडौं, भदौ १५- निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराले नेपाल बार एसोसियनलाई जबर्जस्ती आन्दोलन गर्न लगाइएको बताएका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बुधबार बयान दिने क्रममा उनले कसैको एक कप चिया खाएको भए प्रमाणित गर्न चुनौती दिएका छन् ।
‘नेपाल बार एसोसियनको आन्दोलन परिचालित थियो। आन्दोलन गर्न लगाइएको थियो। जहाँसम्म विचौलियाको कुरा छ। प्रधान्यायाधीश हुँदै गर्दा कसैको एक कप चिया खाएको प्रमाणि गरिदिनुस्, म आफैँ राजीनामा दिन तयार छु,’ सांसदहरुको प्रश्नमा उनले भने । उनले न्यायालय सुधारका लागि आफूले सक्दो प्रयास गरेपनि काम गर्न नदिएको बताए । उनले भने, ‘न्यायलय सुधारका लागि सक्दो प्रयास गरेँ। तर काम गर्न वातावरण दिइएन।’
समितिका सदस्य एकवाल मियाँका अनुसार जबरामाथि हालसम्म पाँच वटा प्रश्न सोधिएको छ । आचरण, पारिवारिक पृष्ठभूमि, विचौलियामाथिको प्रश्न, किन महाभियोगलगायत प्रश्नहरु उनलाई सोधिएको छ। सांसद मियाँका अनुसार जबरालाई सोधिने ४३ प्रश्नहरु रहेका छन्।
प्रतिनिधिसभा संसदले महाभियोगबारे छानविन गर्न ११ सदस्यीय सिफारिस समिति गठन गरिएको छ ।