Hamro Sanchar

भारतमा बिजुली बेचेर ८५ दिनमा ६ अर्ब आम्दानी : कुलमान घिसिङ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, १२ गते


Advertisement

काठमाडौं, भदौ १२- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्ष २०७९/०८० भित्र नेपाल भारतसँग विजुलीको ‘नेट एक्सपोर्टर’ हुने दाबी गरेका छन् ।

आइतबार ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् ।

उनले चालु आर्थिक वर्षमा भारतबाट आयात हुने भन्दा भारतमा निर्यात हुने बिजुलीको मात्रा बढी हुने बताए । घिसिङले पछिल्लो ८५ दिनमा भारतमा विद्युत निर्यात गरेर ६ अर्ब रुपैयाँ आम्दानी गरेको बताए । उनले कात्तिकसम्म नै भारतमा बिजुली निर्यात गर्न सकिने बताए । उनले चालु आर्थिक वर्षकै आगामी थप जेठ असारमा पनि ठूलो मात्रामा बिजुली भारत निर्यात हुने बताए ।

घिसिङले अहिले रातिको समयमा केही घण्टामा प्रतियुनिट १२ भारतीय रुपैयाँ र औसतमा प्रतियुनिट रेट ६ भारतीय रुपैयाँसम्म रहेको बताए । घिसिङले पछिल्लो समय नेपालमा पनि विद्युतको माग अत्याधिक रहेको बताए । उनले अहिले उत्पादन भएको १०० प्रतिशत विद्युत खपत भइरहेको पनि बताए । उनले विद्युत खपत २५ प्रतिशतले बढ्दै गएकाले आगामी वर्ष पनि २५ प्रतिशतले विद्युत खपत बढ्ने दाबी गरे ।

कार्यकारी निर्देशक घिसिङले भविष्यमा नेपालको विद्युत जनतालाई निःशुल्क दिन सकिने बताए । उनले आगामी केही बर्ष विद्युतका पूर्वाधारमा ठूलो लगानी गर्नुपर्ने भन्दै सबैले विद्युत महशुल तिर्नुपर्ने बताए । घिसिङले तत्कालको लागि उद्योगहरुलाई डिमाण्ड शुल्क छुट दिन नसकिने संकेत गरे । उनले सरकारले कोभिड लगायतका कारणले छुट दिएको बताए । उनले अहिलेसम्म करिव ९३ प्रतिशत विद्युतको पहुँच पुगेको बताए । आगामी २ वर्षमा सरकारले शतप्रतिशत विद्युतको पहुँच पुर्याउन लक्ष्य सरकारले लिएको उनको भनाई छ । घिसिङले गुणस्तर र विश्वसनीयता बढायो भने विद्युत खपत बढ्ने भन्दै सरकारले अहिले त्यसैलाई प्राथमिकता दिएर काम गरिरहेको बताए ।

उनले पछिल्लो समय कुनैपनि क्षेत्रले मूल्य नघटाएको अवस्थामा पनि विद्युत प्राधिकरणले मूल्य घटाएको बताए । घिसिङले गत आर्थिक वर्षमा विद्युत महशुल बढाएर नभई घटाएर भएपनि १६ अर्ब रुपैयाँ नाफा गरेको बताए ।


प्रतिकृया दिनुहोस्