Hamro Sanchar

श्रममन्त्री कुँवरद्धारा सामाजिक सुरक्षा कोषको दुई वटा शाखा कार्यालयको उदल्घाटन

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, ८ गते


Advertisement

काठमाडौं, भदौ ८- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोषको दुई वटा शाखा कार्यालयको भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् । मन्त्रालमा बुधबार एक कार्यक्रमको आयोजना गरि प्रदेश नम्बर एकको विराटनगर र मधेस प्रदेशको सिमरामा सञ्चालनमा ल्याइएका दुई वटा शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री कुँवरले संघीयताको मर्म अनुसार सामाजिक सुरक्षा कोषलाई गतिशील बनाउनका लागि सो कार्यालयको स्थापना र सेवा शुभारम्भ गरिएको बताए । स्थानीय तहमा बस्ने श्रमिकलाई सेवा लिन काठमाडौं आउन समस्या हुने भएकाले पनि सेवा सहजताका लागि शाखा कार्यालयको स्थापना गरिएको बताए ।

उनले भने, ‘संघीयताको मर्म अनुसार दुई वटा शाखा कार्यालय विस्तार गरिएको हो । र, यो आवश्यकता अनुसार विस्तार गर्दै लगिनेछ । म रोजगार दाताहरूलाई योगदानकर्ताहरूलाई आग्रह गर्न चाहन्छु सामाजिक सुरक्षा कोषमा आबद्ध होऊ । कतिपय रोजगार दाताहरू, कतिपय घोषित क्षेत्रहरू पनि सामाजिक सुरक्षा कोषमा आबद्ध नभएको हामीले देखेका छौँ । सबैलाई कानुन, नियम, विधि, विधान अनुसार कोषको दायरामा ल्याइनेछ ।’

उनले सो कोषमा आबद्ध हुन सबै रोजगारदाता र योगदानकर्ताहरूलाई आग्रह समेत गरेका छन् ।

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव एकनारायण अर्यालले सामाजिक सुरक्षा कोषको सेवा काठमाडौंमा मात्रै नभई स्थानीय तहसम्म विस्तार गर्ने योजना रहेको बताए । उनले आज मात्रै मन्त्रालयमा कोषको सञ्चालक समितिको बैठकले नेपालगन्जं र बुटवलमा कोषको सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको जानकारी गराए । साथै उनले कोषले निकट भविष्यमै श्रमीकका बच्चाहरुलाई अध्ययनका लागि छात्रबृद्धि दिने व्यवस्था समेत गर्ने तयारी गरेको बताए ।

नयाँ शाखा कार्यालयहरुको स्थापनाले सामाजिक सुरक्षा प्रणालीमा पहुँच वृद्धि हुने विश्वास कोषले लिएको छ ।


प्रतिकृया दिनुहोस्