काठमाडौं, भदौ ८- कुवेत जान लागेका ३९ जना महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै रोकेको छ ।
बुधबार बिहान साढे ३ बजे अल जजिराको उडानबाट कुवेत जान लागेका ३९ महिलालाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयले रोकेको हो ।
भिजिट भिसामा जान लागेका उनीहरूमाथि शंका लागेर प्रहरीले रोकेको हो ।
प्रहरी श्रोत भन्छ, ‘उनीहरू भिजिट भिसामा जान लागेका हुन् । कहाँ जान लागेको भन्दा दुबई घुम्न भन्छन् । घुम्न जानलाई पैसा छ भन्दा बैंकको कागज देखाउँछन्, कागज एउटा बैंकको बोकेका छन् । भन्दा अर्कै बैंकको नाम लिन्छन्,’ उनले भने, ‘सोधपुछ गर्दा शंकास्पद लागेर हामीले रोकेका हौ ।’
उनीहरूलाई कसले विदेश पठाउन लागेको भन्नेबारे सोध्दा चुप लागेर बसेको प्रहरीले बताएको छ । एक जना महिला दुबई जाने भने पनि उनको कुवेतसम्मको मात्रै टिकट थियो । अरूको चै कुवेतहुँदै दुबई जाने टिकट रहेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपेन्द्र घर्ती क्षेत्रीले जानकारी दिए ।
प्रहरीले उनीहरूको गन्तब्य कुवेतसम्म मात्रै हुनुपर्ने आशंका गरेको छ ।
उनीहरूलाई प्रहरीले माइती नेपालमा बुझाएको छ । मानव बेचबिखन गर्न लागेको आशंकामा प्रहरीले अनुसन्धान समेत गर्ने जनाएको छ ।