काठमाडौं, भदौ ६- मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सुरक्षाका लागि हतियार अपुग भएको बताउँदै नेपाल प्रहरीले नेपाली सेनासँग हतियार मागेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार चुनावी सुरक्षाका लागि सेनासँग २ हजार ६ सय थान साना हतियार माग गरेको हो । स्थानीय तहको निर्वाचनमा समेत सेनासँग हतियार मागेर काम चलाएको प्रहरीले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि पनि सेनासँग हतियार सापट लिन लागेको हो ।
स्थानीय तहको चुनावमा प्रहरीले सेनासँग २ हजार थान पेस्तोल माग गरेको थियो । त्यतिबेला सेनाले समय थोरै भएको भन्दै हतियार संकलन गर्न नसकिएको जानकारी गराउँदै १ हजार थान पेस्तोल मात्रै प्रहरीलाई उपलब्ध गराएको थियो । संघ र प्रदेशको चुनावमा एकै चरणमा गनुपर्ने र मतदानस्थल र मतपेटिका पनि स्थानीय तहको भन्दा बढी हुने भएकाले सुरक्षाकर्मीका साथै हतियार पनि यो पटक धेरै चाहिने प्रहरीको विशेष सुरक्षा समितिको ठहर छ ।
सेनाले माग अनुसार नै हतियार उपलब्ध गराएको अवस्थामा चुनावी सुरक्षाका लागि पेस्तोलको उपलब्धता पर्याप्त हुने प्रहरीले जनाएको छ । नेपाल प्रहरीले आगामी निर्वाचनका लागि १ लाख २० हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने भन्दै प्रस्ताव पेस गरेको छ । यसअघि स्थानीय तहको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना गरिएको थियो ।
प्रहरीले चुनावी प्रयोजनका लागि भन्दै ३ अर्ब ४७ करोड ३५ लाख बजेट माग गरेको छ । बजेटको धेरै हिस्सा गाडी खरिद र भाडामा लिन प्रयोग हुने प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।