काठमाडौं, भदौं ४- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन दलहरुबीच संविधान, आर्थिक, सामाजिक विषय र विदेश नीतिमा साझा धारणा बनाएरमात्र चुनावमा जानुपर्ने भन्दै चुनाव जित्नका लागिमात्र गठबन्धन गर्दा कांग्रेसलाई घाटा हुने बताएका छन् ।
गठबन्धनको सिट बाँडफाँट कार्यदल सदस्य समेत रहेका महामन्त्री थापाले कांग्रेसको संगठन र मतदाताको मनोविज्ञान अन्य सहयात्री दलले नबुझ्ने हो भने सोचेजस्तो परिणाम नआउने बताए । उनले २ हजार मत भएको दललाई २० हजार खन्याएर २२ हजार मत बनाउँन नसकिने बताए ।
महामन्त्री थापाले भने, विदेश नीतिको कुरा आउनासाथ गठबन्धनकै अर्का साथीले हामीलाई दलाल भन्छन्, राष्ट्रघाती भन्छन् । दलाल भनेको छ फेरि गठबन्धन पनि बसेको छ । राष्ट्रघातीसँग किन बसेको त ? त्यसैले अब चुनाव अघि नै गठबन्धन गरेर जाँदै गर्दा यस्ता विषयमा न्युनतम समझदारी हुनुपर्छ ।