काठमाडौं, साउन ३१- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमती र सालाहरु अगाडि सारेर देशमा भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाले आफन्तमार्फत देशलाई दुःख दिएको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोरीलाई मेयर बनाउन मरिहत्ते गरेकै कारण केहीले राजनीतिलाई घृणा गरेको जिकीर गरे ।
मंगलबार काठमाडौंमा आयोजित ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा बोल्दै उनले व्यापारीका प्रतिनिधिलाई ल्याएर करको दर हेरफेर गरेपछि राजनीतिमा घृणाभाव जागृत भएको तर्क समेत गरे । अध्यक्ष ओलीले सत्तारुढ दलका नेताहरुले राजनीति नगरेको उल्लेख गर्दै त्यसका विरुद्ध लड्न पनि सबैलाई आह्वान गरे । राजनीति देशका लागि, जनताका लागि, विश्व शान्ति र मानवजातिको हितका लागि हुनुपर्ने भन्दै उनले त्यसको पक्षमा आफूहरु दृढतापूर्वक उभिरहेको दावी गरे ।
ओलीले राजनीतिमा एकथोपा पनि पसिना नबगाएकाहरुले यसलाई इन्जोय गर्ने माध्यामको रुपमा लिएको टिप्पणी समेत गरे । स्वतन्त्रको पहिचान बनाएर राजनीतिमा सहभागी भइरहेकाहरुप्रति संकेत गर्दै उनले राजनीतिलाई उनीहरुले रमाइलो गर्ने माध्यमको रुपमा लिएपनि त्यस्तो नभएको बताए ।
ओलीले राजनीतिमा सहभागी भएर असाधारण योगदान गरिरहेको भन्दै महिलाहरुको प्रशंशा गरे ।