काठमाडौं, साउन ५- नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले गठबन्धन सरकार नागरिककाे समस्या समाधान गर्ने कुरामा बेखबर भएको बताएका छन् । बिहीवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सांसद ज्ञवालीले अमेरिकामा खाना खाएको फोटो देखाएर आफ्नो ट्रोल बनाएको भन्दै नागरिकका समस्या समाधान गर्न सरकार उत्तरदायी नबनेको आरोप लगाए । उनले भने, ‘मैले सार्वजनिक कार्यक्रममा बोलेको कुरा अमेरिकामा खाना खाइरहेको फोटो हालेर ट्रोल बनाउनुभएछ । त्यसो गरेर उहाँहरूको भान्सामा सस्तो हुन्छ भने मेरो शुभकामना छ ।’
केही दिनअघि एउटा कार्यक्रममा सांसद ज्ञवालीले आफू पूर्वमन्त्री भइसकेकाे र अहिले सांसद हुँदा पनि महँगीका कारण भान्सा दुई थरी तरकारी पाक्न गाह्राे भएकाे बताएका थिए ।
सांसद ज्ञवालीले भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा समेत सरकारले नागरिकसँग लुट्न मूल्य नघटाइरहेको आरोप लगाए । उनले किसानले मलखाद नपाइरहेको भन्दै सरकार यत्तिका दिनसम्म पनि गैरजिम्मेवार भएर बस्न नमिल्ने बताए ।