काठमाडौं, असार ३०- नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले पूर्व अर्थमन्त्री जनार्दन शर्माप्रति लक्षित गर्दै सीसीटीभी क्यामेराका धेरै फुटेजहरू हराएर देशलाई कमजोर बनाएको बताएका छन् ।
बिहीवार ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धित नीति संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सीसीटीभी विज्ञानको एउटा प्रकरण भएको र त्यही प्रकरणअन्तर्गत सीसीटीभीको फुटेज हराएर देशलाई झनै कमजोर बनाइरहेको बताए । उनले सुशासन र पारदर्शिता विज्ञानलाई छलेर सम्भव नरहेको भन्दै विज्ञानलाई स्वीकार्न सकेमात्रै लक्ष्यमा पुग्ने धारणा राखे ।
उनले भने, ‘विज्ञान प्रविधिबाट हामी पछि परेका छौँ । चिन्तन र जीवनशैलीमा क्रान्ति ल्याउनका लागि समाज परिवर्तन गर्न विज्ञानको प्रयोग गर्ने सम्पूर्ण आयामहरू तय गर्नसक्ने नीतिहरू बनाऔँ । सीसीटीभी विज्ञानको एउटा प्रकरण, सीसीटीभीको फुटेज हराएको अर्को प्रकरण । जिन्दगीमा धेरै फुटेजहरू हमीले हराउँदै–हराउँदै गएका छौँ र आफूलाई कमजोर पारेका छौँ । सुशासन र पारदर्शिता विज्ञानलाई छलेर सम्भव छैन । विज्ञानको अधिकतम उपयोग गरेर नै सम्भव छ ।’